३० फागुन,सुर्खेत-
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ । हरेक वर्ष स्थानीय तहको कार्य सम्पादन मुल्यांकन सार्वजनिक गर्दै आएको आयोगले आर्थिक वर्ष २०८१-०८२ को नतिजा सार्वजनिक गरेको हो । पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा कार्य सम्पादन मुल्यांकनमा गुर्भाकोट नगरपालिका पहिलोहुँदा लेकवेशी तेस्रो भएको छ भने सिम्ता गाउँपालिका अन्तिममा रहेको छ।

प्राप्त अंकमा गुर्भाकोट नगरपालिकाले ७३.९१ अंकसहित पहिलो बनेको छ। दोस्रोमा रहेको वीरेन्द्रनगर नगरपालिकाको ६१.८६ र तेस्रोमा रहेको लेकवेशी नगरपालिकाको ६१.०४ अंक तेस्रो नम्बरमा रहेको छ। चौथो नम्बरमा रहेको भेरीगंगा नगरपालिकाले ५९.०३ , पाँचौमा चौकुने गाउँपालिकाले ५७.३१ र छैटौंमा रहेको चिंगाड गाउँपालिकाले ५५.०५ अंक पाएको छ । सातौंमा रहेको बराहताल गाउँपालिकाले ५४.७२ र आठौमा रहेको पञ्चपुरी नगरपालिकाको ५०.४५ अंक रहेको छ । अन्तिममा सिम्ता गाउँपालिकाको अंक ४५.३८ रहेको छ।

आयोगले कार्य सम्पादन मुल्यांकनका लागि १७ वटा सुचक तोकेको छ । तिनै सुचकको आधारमा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन आयोगले गर्दै आएको छ । सूचकहरुमा नगर तथा गाउँ कार्यपालिको हरेक वर्ष असार १० गते नीति तथा कार्यक्रम र बजेट पेश गरे नगरेको, असार मसान्तभिव पारित गरे-नगरेको र आयव्यव प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे-नगरेको रहेका छन् । यस्तै, बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, राजश्व संकलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजश्व संकलन रकम, मुल्यांकन गरिएको अघिल्लो आर्थिक वर्षको यथार्थ राजश्व संकलन रकम खुलाएको हुनुपर्ने सूचकमा समावेश छ ।

सूचकहरुमा कुल विनियोजित र खर्च रकम, कुल पुँजिगत विनियोजन र खर्च, लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु रकम र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्रको प्रयोग गरे-नगरेको छन् । स्थानीय तहले आवधिक योजना तर्जुमा गरे-नगरेको, कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समुहका विद्यार्थी खुद भर्नादर, कक्षा ८ मा रहेका विद्यार्थी संख्या, शैक्षिक शत्रमा कक्षा ९ मा रहेका विद्यार्थी संख्या, सामुदायिक विद्यालयवाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्या र सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा कम्तीमा डी वा सो भन्दा उच्च ग्रेडसहित उतिर्ण विद्यार्थी संख्यालाई कार्य सम्पादन मुल्यांकनको सूचकमा समावेश छ ।

एक आर्थिक वर्षमा अनुमानित गर्भवति महिलाको संख्या, चार पटक गर्भ जाँच गर्ने महिलाको सख्या, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या, २४ महिनासम्मका वालवालिकाको अनुमानित संख्या र पुर्ण खोप पाएका बालबालिकाको संख्या पनि आयोगले मुल्यांकन गर्ने कार्य सम्पादन मुल्यांकनको सुचककमा राखेको छ ।

































