२९ फागुन, सुर्खेत-
सुर्खेतको भेरीगंगा नगरपालिकाको नगरसभाको १८औँ अधिवेशन अन्ततः स्थगित भएको छ। आज दिउँसो १ बजेको लागि आह्वान गरिएको नगरसभाको बैठक लामो समयसम्म सुरु हुन नसकेपछि स्थगित भएको हो। दिउँसो १ बजे बस्ने भनिएको नगरसभाको बैठक ३ बजेसम्म पनि सुरु हुने कुनै संकेत नदेखिएपछि नगरसभा सदस्यहरू हलभित्र र बाहिर प्रतीक्षारत अवस्थामा रहेका थिए। केही सदस्यहरू “आज सभा बस्दैन जस्तो छ, अब घर फर्किनुपर्छ” भन्दै बाहिरिएका थिए भने कतिपय सदस्यहरूले “सभा बस्छ, साँझसम्म कुर्नुपर्छ” भन्दै हल वरिपरि नै बसेका थिए।

नगरसभाका केही योजनाहरूमा असहमति देखिएको र ती विषयमा छलफलमार्फत समाधान खोज्ने प्रयास भइरहेको सदस्यहरूले जानकारी दिएका थिए। सभा सञ्चालन हुने विश्वासमा सदस्यहरू बेलुकी करिब ४ बजेसम्म नगरसभास्थलमै बसेका थिए। समयमै सभा सुरु नहुने संकेत देखिएपछि सभाको विच वा अन्त्यमा खाने नास्ता पनि बीचमै वितरण गरिएको थियो। त्यसपछि पनि नगरसभा सञ्चालनका लागि उपप्रमुख, सभासचिव, सभाध्यक्ष तथा नगरसभा सदस्यहरूबीच पटक–पटक छलफल भएको थियो। तर कार्यपालिकामा उठान नभएका तथा छलफलमै नआएका योजनाहरू नगरसभामा प्रस्तुत गर्न खोजिएको भन्दै धेरै सदस्यहरूले आपत्ति जनाएका थिए। कार्यपालिकामा छलफल नै नभएका योजनाहरू सभामा ल्याइएकाले सभामा बस्नुको कुनै अर्थ नभएको भन्दै अधिकांश सदस्यहरूले सभा हलभित्र प्रवेश नै गरेका थिएनन्।

उपप्रमुख र सभासचिवले पटक–पटक सभा सञ्चालनका लागि सदस्यहरूलाई हलभित्र बोलाए पनि अधिकांश सदस्यहरू प्रवेश नगरेपछि नगरप्रमुख तथा सभा अध्यक्ष यज्ञप्रसाद ढकालसमेत सभा हलमा प्रवेश गर्न पाउनुभएन। कार्यपालिकामा छलफल भएका योजनाबाहेक अन्य विषयमा छलफल गर्न नसकिने अडानमा सदस्यहरू रहेपछि सभा सञ्चालन हुन नसक्ने स्थिति बनेको थियो। केही समयपछि सहमति भएको भन्दै सदस्यहरूलाई हलभित्र बोलाइए पनि अन्तिम समयमा पुनः योजनाकै विषयमा कुरा नमिलेपछि नगरसभा कहिले बस्ने भन्ने विषयमा कुनै निष्कर्ष ननिस्कँदै सभा सदस्यहरू घर फर्किएका हुन्। यता नगरप्रमुख तथा सभा अध्यक्ष यज्ञप्रसाद ढकालले सबै विषयमा सहमति भइसकेको भए पनि अन्तिममा नगरसभा सदस्यहरू घर फर्किएकाले आज सभा सञ्चालन हुन नसकेको बताउनुभयो। उहाँले सहमति अनुसार छिट्टै नगरसभा पुनः सञ्चालन गरिने जानकारी दिनुभयो।

































