
२६ फागुन,सुर्खेत-
रुकुम पश्चिम स्थित बाँफिकोट गाउँपालिका -३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ भने एक किशोरी बेपत्ता रहेको बताईएको छ । आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । करिब पाँच सय मिटर फरक दुरीमा दुई शव फेला परेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार शवको पहिचान समेत भएको छ । शवहरु बाँफिकोट गाउँपालिका ३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मीला ओलीको रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । भेरी नदि किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् । उहाँका अनुसार सोमबार बेलुका तीन जना किशोरीहरु छिमेकी गाउँको विवाहमा जान भनेर गएका थिए । उनीहरुको साथमा गएकी १३ वर्षीया सपना ओलीको भने अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक पुनले जनाउनुभयो ।

विवाहबाट फर्कदै गर्दा भेरी नदिले बगाएको हुन सक्ने आशंक गरिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक पुनको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ । यस अघि अस्थायी प्रहरी पोष्ट छिनखेतबाट पनि प्रहरी टोली घटनास्थलमा खटिएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।-श्रोत:मुलापाटी

































