१८ फागुन,सुर्खेत-
राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेत क्षेत्र नं १ मा बाजि मार्ने दाबी गरेकाे छ। पछिल्लाे समय रास्वपाकाे बढ्दाे रुझानलाई निर्वाचन जित्ने विश्लेषण रास्वपाकाे छ। काङ्ग्रेसको विरासत र एमालेकाे बलियाे संगठन रहेकाे सुर्खेत १ मा रास्वपाले आन्तरिक रणनीति अनुरुप कुनैपनि ठूला सभा र कार्यक्रम नगरेर सांगठनिक संरचना निर्माण र चुपचाप घण्टी छापकाे नारा रास्वपाले घरघरमा पुर्याएकाेले निर्वाचनकाे परिणाम आफ्नाे पक्षमा आउने रास्वपा नेता सूर्यदीप रेग्मीले दाबी गर्नु भयो।

अन्य दलबाट रास्वपाकाे समर्थनमा आएका नेता कार्यकर्तालाई पार्टी प्रवेशकाे कार्यक्रम राख्दा पुन: पुराना दलले आफूतिर फर्काउन दबाब सिर्जना गर्न सक्ने भएकाेले उनीहरुलाई कार्यक्रम मार्फत सार्वजनिक नगरी आन्तरिक रुपमा घण्टीमा मत माग्ने रणनीति रास्वपाले बनाएकाे उहाँको भनाई छ। नेता रेग्मीका अनुसार याे निर्वाचनमा रास्वपाले प्रयाेग गरेका विभिन्न रणनीति मध्ये चुपचाप घण्टी छापकाे नारा सबै भन्दा प्रभावकारी भएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुर्खेत क्षेत्र नं १ मा टेक बहादुर सिंह उमेदवार हुनुहुन्छ। सिंहकाे पृष्ठभूमि काङ्ग्रेसको भएकाेले प्राप्त हुने मत र नयाँ संभावनाकाे मत समेत घण्टीमै आउने भएकाेले निर्वाचन जितिने रास्वपाकाे बुझाइ छ।

































