१८ फागुन,सुर्खेत-
आज हिमाली तथा पहाडी क्षेत्रमा फागुपूर्णिमा अर्थात् होली पर्व मनाईंदैछ। हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ आज फागुपूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ । यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन । प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भिडभाड नगरी होली मनाउन आग्रह गरेको छ । सबै ठाउँमा आपसी सद्भाव, सामाजिक एकता र उत्साह अभिवृद्धि गर्नु नै यसको मूल उद्देश्य रहेको पाइन्छ ।

































