१७ फागुन, सुर्खेत
सामाजिक सञ्जाल टिकटकमार्फत खुकुरी देखाउँदै भिडियो पोस्ट गरी सार्वजनिक शान्ति खलल पुर्याउने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी अन्तर्गत सुर्खेतबाट खटिएको प्रहरी टोलीले मिति २०८२–११–१७ गते उनीहरूलाई प्रयोग गरिएको हातहतियार (खुकुरी) सहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कालिकोट जिल्ला शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका–१० (एयरपोर्ट क्षेत्र) बस्ने, जनमावि कक्षा १२ मा अध्ययनरत १८ वर्षीय सुरेन्द्र शाही, दैलेख जिल्ला घर भई वीरेन्द्रनगर नगरपालिका–१० बस्ने जनमावि कक्षा १२ कै १९ वर्षीय असिम सावद र दैलेख जिल्ला घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने १८ वर्षीय प्रकाश सुनारलाई नियन्त्रणमा लिइएको हो।

उनीहरूले टिकटकमा खुकुरी प्रदर्शन गर्दै धम्कीपूर्ण शैलीमा भिडियो सार्वजनिक गरेपछि स्थानीयवासीमा त्रास फैलिएको थियो। सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक शान्ति भंग गर्ने गतिविधि कानुनविपरीत रहेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, यस्ता उच्छृंखल गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सचेत रहन पनि आग्रह गरिएको छ।

































