
१५ फागुन, सुर्खेत-
भेरीगंगा नगरपालिका–१३ रामघाट स्थित करेलीखोला पुलको ढलान कार्य सुरु भएको छ। लामो समयदेखि स्थानीयवासीले प्रतिक्षा गर्दै आएको पुल निर्माणले अब गति लिएको हो।

ढलान कार्यको सुरुवातसँगै आज नगर प्रमुख यज्ञ प्रसाद ढकाल, वडा नं. १३ का वडाध्यक्ष गणेश बहादुर भण्डारी लगायत जनप्रतिनिधिहरूले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा निर्माण कार्यको गुणस्तर, समयसीमा र प्राविधिक पक्षबारे जानकारी लिँदै तोकिएकै समयभित्र काम सम्पन्न गर्न निर्देशन दिइएको बताइएको छ।

नगर प्रमुख ढकालले चालु आर्थिक वर्षभित्रै पुल निर्माण सम्पन्न गरिने प्रतिबद्धता जनाउँदै यसले स्थानीय बासिन्दाको आवतजावत, कृषि उपज ढुवानी तथा दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो। स्थानीयका अनुसार पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा हुने जोखिम न्यूनीकरण हुनुका साथै रामघाट क्षेत्रको समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

































