

१५ फागुन, सुर्खेत
गूर्भाकोट नगरपालिका र एनसीसी परियोजना–२ को आर्थिक सहयोगमा आर्थिक वर्ष २०८०/०८१ मा नर्सरी निर्माण तथा सञ्चालनका लागि विनियोजित बजेटबाट परीक्षणका रूपमा लगाइएको अम्रिसोको उत्पादन सुरु भएको छ। उत्पादनको परिमाणभन्दा पनि पारथरी सामुदायिक वन ले आम्दानीमुखी यात्रातर्फ चालेको कदमलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। विगतमा अनावश्यक झाडीले ढाकिएको क्षेत्रलाई व्यवस्थापन गरी उत्पादन सुरु गरिनु सकारात्मक संकेत मानिएको छ। यद्यपि दिगोपन, बजार व्यवस्थापन र निरन्तरताका चुनौतीहरू अझै कायम छन्। सामुदायिक वनले पछिल्लो समय फूल उत्पादन, बिरुवा उत्पादन तथा विभिन्न हरित गतिविधि सञ्चालन गर्दै वनलाई स्थानीय आर्थिक स्रोतसँग जोड्ने प्रयास गरिरहेको छ। वनलाई संरक्षणसँगै उत्पादन र रोजगारीको माध्यम बनाउने लक्ष्यसहित योजना अघि बढाइएको जनाइएको छ।

तय गरिएका प्रमुख लक्ष्यहरू
-आर्थिक वर्ष २०८३/०८४ सम्म उपभोक्ता कर शून्यमा झार्ने।
-आर्थिक वर्ष २०८५/०८६ सम्म कम्तीमा २०–२५ जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने।
-चालु आर्थिक वर्षदेखि वार्षिक २५ देखि ३० हजार बिरुवा उत्पादन तथा बिक्री–वितरण गर्ने।
-आर्थिक वर्ष २०८४/०८५ सम्म साविक वडा नं. ८ र २०८७/०८८ सम्म सिंगो वडालाई अम्रिसोको कुचोमा आत्मनिर्भर बनाउने।
-वनको वर्तमान घनत्व २५ प्रतिशतले वृद्धि गर्ने।

स्थानीय स्तरमा रोजगारी सिर्जना गरी नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ अघि बढाइएको यो पहललाई “हरित क्रान्ति” को सुरुवातका रूपमा हेरिएको छ। वन संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अघि बढाउने रणनीतिले आगामी दिनमा समुदायलाई थप लाभ पुग्ने अपेक्षा गरिएको छ।
































