१५ फागुन,सुर्खेत-
गुर्भाकोट–९ स्थित Sahara English Medium School ले सञ्चालन गर्दै आएको नियमित शैक्षिक मञ्च “साझा चौतारी (The Wisdom Bridge)” अन्तर्गत यस हप्ता कर्णालीका चर्चित युवा वैज्ञानिक Rajendra Bista सँग विशेष साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासलाई लक्ष्य गर्दै प्रत्येक हप्ता फरक–फरक क्षेत्रका विज्ञहरूलाई आमन्त्रण गर्ने शृङ्खला अन्तर्गत यस पटक कर्णाली प्रदेश सरकारद्वारा ‘युवा वैज्ञानिक’ उपाधिबाट सम्मानित विष्टलाई आमन्त्रण गरेको हो। कार्यक्रममा विष्टले आफ्नो अनुसन्धान यात्रा, जडीबुटीको सम्भावना तथा स्थानीय स्रोतको वैज्ञानिक प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी गराउनुभयो।

उहाँले विद्यालयमै “स्कुल हर्बल क्याम्पियन” अभियानको शुभारम्भ गर्दै प्रकृति र विज्ञानलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। “विद्यार्थीहरूले किताबी ज्ञानसँगै आफ्नो माटोमा उपलब्ध स्रोत र साधनलाई चिन्नु आवश्यक छ,” विष्टले भन्नुभयो, “स्थानीय जडीबुटीको अध्ययन र संरक्षणबाटै वैज्ञानिक सोचको विकास सम्भव छ।” कार्यक्रममा अभिभावकहरूको उपस्थिति न्यून रहे पनि विद्यार्थीहरूले उत्साहपूर्वक जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए। विद्यालयले “साझा चौतारी” मार्फत समाजका प्रबुद्ध व्यक्तित्व, चिकित्सक, इन्जिनियर, किसान तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष संवाद गराउँदै आएको जनाएको छ।

विद्यालय प्रशासनका अनुसार व्यवहारिक सिकाइलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ। “हाम्रो उद्देश्य बालबालिकालाई सूचना मात्र दिने होइन, समाजका सफल व्यक्तित्वसँग जोडेर प्रेरणा दिनु हो,” प्रधानाध्यापकले बताउनुभयो, “त्यसैले हरेक हप्ता साझा चौतारीमार्फत विज्ञहरूलाई निम्त्याउने गरेका छौं।” यस हप्ताको सत्रले विद्यार्थीहरूमा जडीबुटी पहिचान, अनुसन्धानप्रति रुचि तथा वैज्ञानिक सोच विकासमा महत्वपूर्ण टेवा पुगेको विद्यालयको विश्वास छ।

































