१४ फागुन,सुर्खेत-
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षमा हरेक काण्डको छानविन गर्ने बताउनु भएको छ। बिहीबार सुर्खेतमा कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर हरेक काण्डको छानविन गर्नको लागि सहयोग गर्न आग्रह गर्नु भएको हो। कार्यक्रममा स्वभापति थापाले सम्बोधन गर्दैै भन्नुभयो, ‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दा मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।’ 

सभापति थापाले पाँच वर्षका योजनाबारे सबै दलसँग सामूहिक टेबलमा बस्न तयार रहेको बताउनु भयो। तर कोही पनि यसका लागि तयार नभएको भन्दै उहाँले कोही कसैले कुनै नाटक गर्यो भने कर्णालीले त्यसलाई पत्याउन नहुने समेत बताउनु भयो। उहाँले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले अब सिंहदरबार जलाउन नहुने बताउनु भयो। त्यस्तै उहाँले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने खतरा रहेको बताउनु भयो।

































