१४ फागुन,सुर्खेत-
सल्यानस्थित भेरी नदीमा हाम फालेर बेपत्ता भएकी बनगाड कुपिण्डे नगरपालिका–६, सुनौलीस्थित माइती घरमा बस्दै आएकी २१ वर्षीया पुष्पा सिंहको शव भेटिएको हो। उनको शव गुर्भाकोट नगरपालिका वडा नम्बर ९ पोख्रेस्थित भेरी नदी किनारमा बिहीबार (आज) बिहान पौने १० बजेतिर फेला परेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताउनु भयो। बेपत्ता भएको स्थानबाट करिब २० किलोमिटर दक्षिणमा पुष्पाको शव फेला परेको हो ।

गत शुक्रबार बिहान साढे ११ बजेतिर श्रीमान संग फोटो , भिडियो र टिकटक बनाउन भनेर गएकी २१ बर्षीया पुष्पा सिंहले माइती घर फर्किने क्रममा एकाएक भेरी नदीमा हाम फालेकी थिइन्। घटना भएको १५ दिनअघि मात्रै पुष्पाले दाङको तुलसीपुर उपमहानगरपालिका–६, बरुवा गाउँका ३० वर्षीय त्रिदेव मल्लसँग विवाह गरेकी थिइन्।

बिहे पछि श्रीमान – श्रीमती सँगै सल्यानस्थित माइती घर गएका थिए। माइती घरमा छँदा पुष्पाले नै श्रीमान त्रिदेवलाई टिकटक बनाउन र फोटो खिच्न भनेर भेरी नदी पुल क्षेत्रमा लगेकी थिइन्। उनीहरूले टिकटक बनाएका पनि थिए। भिडियो र फोटोहरु खिचेपछि माइती घर फर्किने सल्लाह गरे। फर्कने बेला त्रिदेव अघि र पुष्पा केही पछि थिइन्। त्यही क्रममा उनी भेरीमा हाम फालेकी थिइन्। श्रीमती पुष्पाले एकाएक हाम फाल्दै गरेको देखेपछि श्रीमान त्रिदेवले हार गुहार गरेका थिए ।

सामाजिक सञ्जालमा चिनजानपछि आपसी प्रेममा परेका उनीहरुले घर परिवारको सहमतिमा बिहे गरेका थिए । माइती र घर दुवै पक्ष उनीहरुको बिहेबाट खुसी राजी नै थिए । तर, बिहे पछि संगै माइती घर गएकी पुष्पाले किन एकाएक भेरी नदीमा हाम फालेकी हुन भन्ने कुरा खुलि सकेको छैन। त्यसबारे थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक भट्टराइले बताउनु भयो।
































