

१ फागुन, सुर्खेत-
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बराहताल गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड को सातौँ संस्करण अन्तर्गत छनोट प्रतियोगिता सुरु भएको छ। बराहताल गाउँपालिकाको आयोजनामा तथा सूर्यज्योति मावि लामाखालीको सह–आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिता माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई लक्ष्य गरी आयोजना गरिएको हो। प्रतियोगिता तीन दिनसम्म विभिन्न खेल विधामा सञ्चालन हुनेछ।प्रतियोगिता फागुन ३ गतेसम्म संचालन हुनेछ।
प्रतियोगिताको पहिलो दिन नै उत्साहजनक सहभागिताका साथ विभिन्न खेलहरू सम्पन्न भएका छन्। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी भाइ–बहिनीहरूलाई गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारी,उपाध्यक्षलक्ष्मी पुन मगर तथा प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर डिसीलेले प्रमाणपत्र र मेडल वितरण गर्दै हौसला प्रदान गर्नुभएको हो। गाउँपालिका गाउँ शिक्षा समितिको मिति २०८२/१०/२६ गतेको निर्णयअनुसार आयोजना गरिएको यस प्रतियोगितामा गाउँपालिकाभित्रका ९ वटै माध्यमिक विद्यालयमा नियमित अध्ययनरत १८ वर्षमुनिका छात्र–छात्राहरू अनिवार्य रूपमा सहभागी छन्। खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा पहिचान, शारीरिक सुदृढीकरण तथा अनुशासन अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा भलिबल र कबड्डी खेल छात्र तथा छात्रा दुवैतर्फ सञ्चालन हुनेछन्। त्यसैगरी एथलेटिक्स अन्तर्गत ट्रयाक, फिल्ड र रिले विधाका विभिन्न प्रतिस्पर्धा,ट्रयाक: १०० मिटरदेखि ३००० मिटरसम्मका दौड प्रतिस्पर्धा,छात्र: हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो (८०० ग्राम), सटपुट (१२ पाउण्ड),छात्रा: ज्याभलिन थ्रो (६०० ग्राम), सटपुट (८ पाउण्ड),रिले: ४×१०० मिटर र ४×४०० मिटर (छात्र–छात्रा दुवैतर्फ) समावेश छन्। स्थानीय तहमा खेलकुद प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलभावना, अनुशासन र आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।

































