
२७ माघ, सुर्खेत–
बराहताल गाउँपालिकामा गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने भएको छ। बराहताल गाउँपालिका गाउँ शिक्षा समितिको मिति २०८२/१०/२६ गतेको निर्णयअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा बराहताल गाउँपालिका अन्तर्गतका ९ वटै माध्यमिक विद्यालयमा नियमित अध्ययनरत १८ वर्षमुनिका छात्र–छात्रा अनिवार्य रूपमा सहभागी गराइने गाउँपालिकाले जनाएको छ। खेलकुदमार्फत विद्यार्थीको प्रतिभा पहिचान, शारीरिक विकास र अनुशासन अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा समावेश खेलहरू
प्रतियोगितामा भलिवल र कबड्डी खेल छात्र तथा छात्रा दुवैतर्फ सञ्चालन हुनेछ। त्यसैगरी एथलेटिक्स अन्तर्गत ट्रयाक, फिल्ड र रिले विधाका विभिन्न प्रतिस्पर्धा हुनेछन्। ट्रयाकतर्फ छात्र र छात्राले १०० मिटरदेखि ३००० मिटरसम्मका दौड प्रतिस्पर्धामा भाग लिन सक्नेछन्।
फिल्डतर्फ छात्रका लागि हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो (८०० ग्राम) र सटपुट (१२ पाउण्ड) तथा छात्रातर्फ ज्याभलिन थ्रो (६०० ग्राम) र सटपुट (८ पाउण्ड) सहितका प्रतिस्पर्धा रहनेछन्। रिले दौडतर्फ छात्र र छात्रा दुवैका लागि ४×१०० मिटर र ४×४०० मिटर रिले समावेश गरिएको छ।


सहभागिता सम्बन्धी नियमहरु
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधन सहित) अनुसार कक्षा १२ सम्म अध्ययनरत र माघ २९ गतेसम्म १८ वर्ष ननाघेका विद्यार्थी मात्र सहभागी हुन पाउनेछन्। खेलाडीले एकै विद्यामा मात्र सहभागिता जनाउन पाउनेछन् भने एथलेटिक्समा अधिकतम २ ट्रयाक र १ फिल्ड वा १ ट्रयाक र २ फिल्डमा भाग लिन सक्ने व्यवस्था गरिएको छ। सहभागी विद्यार्थीको विवरण सम्बन्धी फारम मिति २०८२/१०/२९ गते दिउँसो २ बजेसम्म सुर्यज्योती माध्यमिक विद्यालय, लामाखालीमा बुझाइसक्नुपर्ने आयोजकले जनाएको छ।
गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ फागुन १ गते बिहान ११ बजे सुर्यज्योती माध्यमिक विद्यालय, लामाखाली सुर्खेतमा सुरु हुनेछ। गाउँपालिकाले प्रतियोगितालाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न सबै विद्यालय, शिक्षक तथा विद्यार्थीको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ।
































