सिरहा । सिरहाकी कल्याणपुर नगरपालिका-९ का वडाध्यक्ष विनोद कुमार यादवले अख्तियारको दुरुपयोग गरेका छन् । राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताका विषयमा उनले अख्तियारको दुरुपयोग गरेका हुन् ।
सामाजिक सुरक्षा भत्ता स्वयं लाभग्रहीले प्राप्त गर्नुपर्छ । तर, लाभग्रही बालबालिका वा अशक्त भएको खण्डमा निजको संरक्षकले पैसा प्राप्त गर्ने बन्दोबस्त गरिदिनका लागि वडा कार्यालयले पालिकालाई सिफारिस गर्नुपर्छ ।
वडाको सिफारिसका आधारमा आवश्यक जाँचबुझ गरी टिप्पणी उठाएर बल्ल पालिकाले बैंकलाई सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ । तर, वडाध्यक्ष यादवले कानूनी प्रावधानलाई छल्दै कल्याणपुर-९ का एक लाभग्रहीको रकम आफन्तलाई उपलब्ध गराइदिन सिधै बैंकलाई सिफारिस गरिदिएका हुन् ।
कल्याणपुर-९ की कुसमी देवी यादवको खातामा रहेको सामाजिक सुरक्षा भत्ताको रकम र नयाँ चेक उनको नाति पर्ने संंदिप कुमार यादवलाई उपलब्ध गराइदिन उनले भदौ ८ मा माछापुच्छ्रे बैंक कल्याणपुर शाखालाई सिफारिस गरिदिएको पत्र सार्वजनिक भएको छ ।
तर, लाभग्रही वृद्ध महिलाले भने आफ्नो जानकारी बिनै वडाले यस्तो सिफारिस गरिदिएको गुनासो गरेपछि यसको रहस्य खुलेको हो । विवादित छविका वडाध्यक्ष यादवले आर्थिक प्रभावमा परेर यस्तो गरेको स्थानीयले आरोप लगाएका छन् ।
नगरपालिकाले पनि यसरी विधि र प्रक्रिया मिच्दै सिफारिस दिनु गैरकानुनी भएको जनाएको छ । यस विषयमा नगरपालिकाले अनुसन्धान थालेको छ ।





























