२५ असार,रोल्पा-
रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर सहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । गाउँपालिकाले आज एक प्रेस बिज्ञप्ति जारि गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर सहितका ७ जना कर्मचारी सम्पर्क विहिन भएको जनाएको हो।

नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ । गाउँपालिकाकाका अनुसार उहाँहरु साता जना नै अहिलेसम्म पनि गाउँपालिका तथा पलैकामा कार्यरत कुनैपनि कर्मचारीको सम्पर्कमा आउनु भएको छैन।

‘उहाँहरू हिजो बिहानैदेखि हिँड्नुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,’ पालिका अध्यक्ष बुढामगरले भन्नुभयो , ‘आजै रातिसम्म मात्रै भुक्तानीको समय छ । पालिकालाई समस्या परेको छ ।’ साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान थबाङबाट निस्किएको उहाँले बताउनु भयो। जारि प्रेस बिज्ञप्ति अनुसार उहाँहरु कार्यालयको भुक्तिनीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि रुकुम पूर्व गएर काम गर्ने भन्दै जानु भएको थियो। उहाँहरुसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ । उहाँहरु सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना जारी गरेको हो ।
सम्पर्कविहीन भएका कर्मचारीहरूको नाम :
१) हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत
२) हरिश माझी, सहायक प्रशासन पाँचौ
३) यज्ञ प्रसाद कडेल, सह–लेखापाल
४) चन्द्र प्रकाश ओली, सव–इन्जिनियर
५) निशा आचार्य, सव–इन्जिनियर
६) शिव कुमार वली, खा.पा.स.टे
७) प्रदिप के.सी., सवारी चालक

































