२२ असार,कोहलपुर,
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर २ मा छोराले बुवाको हत्या गरेका छन्। वडा नम्बर २ स्थित मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको उनकै छोराले हत्या गरेका छन्। पारिवारिक स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२ वर्षीय भविलाल रोका (ह्याकर) ले धारिलो हतियार प्रयोग गरी ज्यान लिएका हुन्।

घटनाको समयमा घरमा परिवारका अन्य सदस्यहरु नभएको र सोही अवसर छोपी भविलालले बुवाको हत्या गरेको बताइएको छ। हत्या किन र कसरी भयो भन्ने कारण भने अहिलेसम्म खुल्न सकेको छैन। उक्त घटनाबारे नेपाल प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ। घटना गम्भीर रहेकाले स्थानीयबासी र सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन्।

नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको सहायताले फरार भबिलालको खोजी गरिरहेको छ। हाल उनि फरार रहेकाले प्रहरीले भविलाल रोकालाई नियन्त्रणमा लिन सकेको छैन। घटनाको बारेमा अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

































