२७ जेठ,सुर्खेत-
गुर्भाकोट नगरपालिका–१०, भेडाबारीमा सञ्चालन गरिएको सातदिने दुना-टपरी उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ। स्थानीय महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिमले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भरतातर्फ अघि बढाउने उद्देश्य राखेको थियो।

गुर्भाकोट नगरपालिकाको आयोजना र वडा नं. १० को सहकार्यमा सम्पन्न तालिममा सहभागी महिलाहरूले दुना–टपरी निर्माण गर्ने व्यावहारिक सीप सिकेका छन्। तालिम समापन कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरू, स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबै अतिथि, प्रशिक्षक तथा सहयोगी पक्षप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ।

तालिमपछि सहभागी महिलाहरूले अबदेखि दुना–टपरी उत्पादनलाई नियमित उद्योगको रूपमा सञ्चालन गर्ने जानकारी दिइएको छ। घुमखहरेमा सुरु भएको उक्त उद्योगमार्फत विवाह, बर्तबन्ध, पास्नी लगायतका सामाजिक तथा धार्मिक कार्यहरूका लागि आवश्यक पर्ने दुना–टपरी सहज रुपमा उपलब्ध हुने जनाइएको छ।

कार्यक्रमको प्रमुख अतिथि एवं नगर उपप्रमुख मैना बिकले मठ मन्दिर तथा विवाह भोज, कर्मकाण्ड, ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूजा लगायत धार्मिक कर्मकाण्डमा दुना टपरीको प्रयोग कम हुँदै आएको हुदाँ दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकियो भने पेपर र प्लाष्टिक विस्थापित हुने, महिला दिदीबहिनीहरुलाई घरमै बसेर रोजगारको सिर्जना गर्न सकिने र दुना टपरीको महत्व अझै पनि नघटेको बताउनु भएको थियो।

उक्त दुना–टपरीहरू बजारमा पाइने प्लास्टिकको विकल्पका रूपमा सस्तो, टिकाउ तथा वातावरणमैत्री हुने भएकाले उपभोक्ताहरूलाई आर्कषित गर्ने विश्वास गरिएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै महिलाहरूलाई आत्मनिर्भर बनाउने खालको यस्तो कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै लैजाने नगरपालिकाको लक्ष्य रहेको बताइएको छ।
































