

१८ चैत,दाङ-
दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु भएको छ। तीन महिनापछि आजदेखि उक्त बिमानस्थलमा फेरी हवाई उडान सुरु भएको हो। अबदेखि प्रत्येक सोमबार उक्त बिमानस्थल बाट उडान हुने नेपाल एयरलाइन्सका स्टेशन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिनेछ। सोमबार काठमाडौंबाट दाङ ८ जना यात्रु आएपनि दाङबाट २ जना मात्रै काठमाडौं गएका छन्। विहान साढे ११ बजे तुलसीपुरबाट काठमाडौं उडान भरेको हो । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो ।

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ । उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक–पटक उठ्ने गरेको छ ।

































