२५ कार्तिक,काठमाण्डौ –
विराटनगरमा पक्राउ परेका कोशीका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौँ ल्याएको छ । मानव तस्करीको आरोप लागेका अधिकारीलाई प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत् काठमाडौँ ल्याएको हो । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद अधिकारीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए।
शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो। अधिकारी भने ‘म मन्त्री हुँ’ भन्दै परिचयपत्र देखाएर उम्किएका थिए। उनका साथमा रहेका रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई तत्कालै समातिएका थिए। एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिदिएकामा आलोचना भएको थियो ।
तत्कालीन मन्त्री अधिकारीको नेतृत्वमा चारै जना आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान उडेका थिए। अधिकारीसँग रहेका तीन युवालाई जापानबाट भगाउने गिरोहको योजना रहेको थियो। तर टोकियोको विमानस्थलस्थित अध्यागमनले प्रवेश नदिएपछि चारै जना अध्यागमनबाटै फिर्ता भएका थिए।
उनीहरूमध्ये तीन जनालाई मात्र विमानस्थल अध्यागमनले अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो । ती तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डेलाई पनि पक्राउ गरेको थियो। जापानबाट फिर्ता गरिएका युवाले पाण्डेलाई प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन्। उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। जिल्ला अदातल काठमाडौंले अनुसन्धानका लागि थप ४ दिन हिरासतमा राख्न गत शुक्रबार प्रहरीलाई अनुमति दिएको छ।
अधिकारी स्वयंले ‘आफू गिरोहको चंगुलमा परेर’ जापान गएको भन्दै गल्ती स्वीकार गरिसकेका छन्। गिरोहको चलखेलका विषयमा आफू हङकङ पुगेपछि मात्र थाहा पाएको र जापान पुगेपछि नेपाल प्रहरीलाई खबर गरेको उनले जिकिर गर्ने गरेका छन् । तर जापानको अध्यागमनले प्रवेश नदिएपछि मात्रै नेपाल प्रहरीलाई यसबारे अधिकारीले जानकारी गराएको आशंका छ। आफूलाई प्रयोग गरेर मानव तस्करी भएको थाहा पाएपछि जापानबाटै फर्किएको उनको दाबी छ। कान्तिपुर
































