
२१ कार्तिक, काठमाण्डाै-
काठमाण्डाै – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीसँगै जापान गएका तीन जनासहित ६ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
कात्तिक १४ गते मन्त्री र अरू तीन जनालाई जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । मन्त्री अधिकारीले भने आफ्नो साथमा रहेकाहरूसँग नक्कली कागजात भएको थाहा पाएपछि आफू पनि फर्किएको दाबी गर्नुभएको छ ।
मन्त्रीसँगै जापान जानेहरूमा खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा छन् । प्रहरीले दावा शेर्पाको साथबाट खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र तथा कञ्चन देवकोटा र जनक राईको साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको ‘सहायक’ को परिचयपत्र बरामद गरेको छ ।
जापानबाट डिपोर्ट भएर आएकाहरूको बयानका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले अरू तीन जनालाई पक्राउ गरेको छ । उनीहरूले मन्त्रीसहित अरू व्यक्तिलाई सांस्कृतिक कार्यक्रमका लागि भन्दै जापान लैजान लागेको खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
































