कार्तिक २२,सुर्खेत
कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई राहतस्वरुप दुई करोड ४५ लाख रुपैयाँ पठाएको छ। आज प्रदेश सरकारले रुकुमपश्चिम र सल्यान र जाजरकोटका गरी १६ वटा पालिकालाई २ करोड ४५ लाख रकम पठाएको हो। भूकम्पबाट सबैभन्दा बढी प्रभावित पालिकाहरु जाजरकोटको भेरी नगरपालिकामा २५ लाख, नलगाड नगरपालिकामा २५ लाख, बारेकोट गाउँपालिकामा २५ लाख, कुशे गाउँपालिकामा २० लाख, छेडागाड नगरपालिकामा १० लाख र शिवालय गाउँपालिकामा ५ लाख रकम रहेको छ। यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकालाई २५ लाख, सानोभेरी गाउँपालिकालाई २५ लाख, चौरजहारी नगरपालिकालाई २० लाख र त्रिवेणी गाउँपालिकालाई २० लाख रकम पठाइएको छ। यस्तै भूकम्पबाट प्रभावित सल्यानका तीन पालिकाहरु दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ।
भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धारका लागि उक्त रकम पठाइएको कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकरी दिनु भयो । कानुन मन्त्रालयका अनुसार जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहमा गरी एक करोड २० लाख, रुकुमपश्चिका भूकम्प प्रभावित ६ वटा स्थानीय तहमा एक करोड र सल्यान जिल्लाका तीनवटा स्थानीय तहका २५ लाख रकम वित्तीय हस्तान्तरणका रुपमा पठाइएको छ।
































