कार्तिक २१ ,सुर्खेत
गएको कार्तिक १७ गते राती आएको विनाशकारी भुकम्पबाट प्रभावित जिल्लाका लागि पूर्वी सुर्खेतका चार पालिकाले २२ लाख रुपैँया सहयोग गर्ने भएका छन् । भुकम्प गए पश्चात पालिकामा बसेको कार्यपालिकाको बैठकले भुकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा उद्धार, राहत र पुनस्थापनको लागि २२ लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेका हुन्। सुर्खेतको भेरिगंगा नगरपालिका नगर कार्यपालिकाको बैठकले पीडितहरुकको उद्धार,राहत र पुर्नस्थापनाका लागि जाजरकोट जिल्ला विपद् व्यवस्थापन समितिलाई २ लाख पचास हजार र रुकुमपश्चिम जिल्ला विपद् व्यवस्थापन समितिलाई २ लाख पचास हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाले जानकारी दिनु भयो।

यस्तै लेकबेसी नगरपालिका नगरप्रमुख उमेश कुमार पौडेलले विनाशकारी भुकम्पबाट प्रभावित दुई जिल्लाका लागि रु ५ लाख रुपैया जम्मा गर्ने कार्यपालिकाले निर्णय गरेको जानकारी दिनु भयो।
यता गुर्भाकोट नगरपालिकाले पनि विनाशकारी भुकम्पबाट प्रभावित जाजरकोट जिल्लाका लागि ४ लाख र रुकुम पश्चिम जिल्लाको लागी ३ लाख रुपैया सहयोग गर्ने निर्णय भएको गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनले जानकारी दिनु भयो।
उता सिम्ता गाँउपालिकाले पनि पाँच लाख रुपैया दिने निर्णय गरेको छन्। जाजरकोट जिल्लालाई ३ लाख र रुकुम पश्चिम जिल्लालाई २ लाख दिने निर्णय भएको सिम्ता गाँउपालिका अध्यक्ष ऐन बहादुर चन्दले जानकारी दिनु भयो।
































