कार्तिक १०,दैलेख
गएराति दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रणमा लिइ हत्या गरेको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यका अनुसार पक्राउ पर्नेमा दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गीका १९ वर्षीय झविन्द्र शाही, २१ वर्षीय धर्मराज अधिकारी र ३२ वर्षीया मनिषा रिजालरहेका छन्। दैलेख प्रहरी इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्साल आफैँ घटनास्थल पुगेर अनुसन्धान र आरोपित पक्राउ गर्न सफल हुनुभएको हो ।
भैरबी गाउँपालिका–५ सैनचौर ससुराली गएका किशोर बुढा क्षेत्री र उनका जेठान सुमन शाहीले सिलङ्गीबजारमा मोटरसाइकलमा गालीगलौज गर्दै हिँडेको विषयमा स्थानीय युवाहरुसँग विवादमा झडप भएको थियो । झडपमा सुर्खेतको वीन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको ज्यान गएको थियो।
































