गुर्भाकोट , २६ असोज
विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन सके केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुर्भाकोट २ का तिलक ढकाल । १५ वर्षसम्म भारतमा पसिना बगाएर स्वदेश फर्किएका उनी अहिले पशुपालन बाट मनग्य आम्दानी गर्न थालेका छन् । सानो ठाउँमा पनि दुध बेचेरै घर खर्च चल्छ र मासिक ८० हजार रुपैयाँ बचत गर्न सकिन्छ भन्दा पत्याउन गाह्रो हुन सक्छ । तर, विदेशमा गरेको दुःख र मिहिनेतबाट सिक्दै ढकालले पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न थालेका हुन । उनको फर्ममा अहिले उन्नत जातका ५ भैंसी र २ गाई गरि ७ वटा दुहुना गाईभैसी सङ्गै ४ वटा खसीबाख्रा रहेका छन् ।

दुध मात्रै बेचर उनले आफ्नो सम्पूर्ण व्यवहार धान्दै आएका छन् । आफ्नै जग्गाजमिन सङ्गै अरुको बारिमा घाँस लगाएर गाई भैंसी फर्म’ सञ्चालन गरेका उनले दैनिक ४० लिटर दुध विक्री गर्दै आएका छन् । त्यसबाट खर्च कटाएर मासिक ७०/८० हजार रुपैयाँ भन्दा बढी बचत गर्न सकिएको उनि बताउँछन् । स्वदेशमै केही गर्ने भन्दै १ लाख १० हजार रुपैयाँमा एक वटा भैसि खरीद गरी हाल लक्ष्मि कृषि तथा पशुपन्छी फर्म सञ्चालन गरेका ढकालको गोठमा अहिले गाई, भैंसी र उन्नत जातका बाख्रा पनि छन् । छोटै समयमा अहिले पुँजी वृद्धि सङ्गै उनले गोठमा अझै गाईभैंसीको संख्या थप्ने योजना समेत बनाएका छन् ।
गाईभैंसीलाई घाँसपात सङ्गै गाउघरको कामकाज खेतिपाती समेत गर्न सकिने उनी बताउछन् र परिवार सङ्गै बसेर आफ्नै घर देश मा काम गर्दा थकान को अनुभव समेत नहुने उनी बताउछन तर सरकार बाट कुनै पनि अनुदानका कार्यक्रम नलिई ब्याक्तीगत रुप मा संचालन गरेको छु सरकार बाट हामी किसानहरु का लागि अनुदान का प्याकेज दिए अझै राम्रो र ब्यबस्थित हुने उनी बताउछन । विदेशमा जस्तो परिश्रम र मिहिनेत गर्न सके स्वदेशमा नै स्वर्ग हुने उनको भनाइ छ ।

फर्म सञ्चालन भएकाले किसानलाई दूध विक्री गर्न कुनै समस्या छैन गाउँ घरमै दूध संकलन केन्द्र रहेको हुदा दूध बिक्रि गर्न सहजै भएको उनी बताउछन । पछिल्लो समय गाउँमा उन्नत किसानहरूको अभाव भइरहेको समयमा सरकारले स्थानीय किसानहरूलाई सहुलियत कृषि ऋण र अनुदानको दर बढाउन सके युवाहरू समेत पशुपालनतर्फ आकर्षित हुने भन्दै सो कार्य योजना सहजै किसान तर्फ पुर्याउन सरकार लाई आग्रह समेत गर्दछन ।
































