दैलेख असोज २४,
‘ठूलो ओखती’ नामले चिनिएको एक प्रकारको जडीबुटी खाँदा दैलेखमा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना बिरामी परेका छन् । मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम बिक रहेका छन् भने बिरामी हुनेमा ६१ वर्षका धने कामी र १२ वर्षका रमेश बिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार नर्तम बिकको बुधबार बिहान मृत्यु भएको हो। दुई दिन अघिदेखि ज्वरोले थला परेका तिनै जनालाई ज्वरो घटाउने भन्दै घरमै राखिएको ‘ठूलो ओखती’ भन्ने पहिचान नभएको जडीबुटी खुवाइएको थियो ।
बिरामी भएका दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा पठाइएको थियो । तर स्वास्थ्य अवस्था झन् जटिल हुन थालेपछि दुवै जनालाई प्रदेश अस्पताल सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।
































