सुर्खेत १५
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन भइरहेको वीरेन्द्रनगर सिटी हल तोडफोड भएको छ। आज दिउँसो मतगणना सुरू भएलगत्तै एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूले सिटी हलमा तोडफोड गरेका हुन्। अधिवेशनमा उपस्थित एक नेताका अनुसार निर्वाचन कमिटीको सदस्य रहेका सत्य शाही र प्रदेशका एक नेताबीच आइतबार विवाद उत्पन्न भएको थियो।
त्यसपछि सत्य शाहीलाई कारबाही गरी अधिवेशनको निर्वाचन कमिटीबाट हटाइएको थियो। आज दिउँसो मतगणना सुरू हुन लाग्दा उनीपनि सिटी हलमा उपस्थित भइ मतगणना स्थलमा आफू पनि बस्न पाउनुपर्ने अडान राखेका थिए।
पार्टीभित्रको आन्तरिक विवाद पार्टीमै मिलाउनुपर्नेमा सत्य शाहीलाई प्रहरीको जिम्मा लगाइएको भन्दै अनेरास्ववियुका कार्यकर्ताहरू सिटी हलमा पुगेर प्रदर्शन गरेका थिए। उनीहरूले गेटमा लात्ती प्रहार गर्दा गेटको सिसा फुटेको थियो । शाही अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोग प्रमुख हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले केहीबेर नियन्त्रणमा लिएर छोडेको छ। अनेरास्ववियुका कार्यकर्ताहरुले विरोधमा उत्रिएर मतगणना विथोल्न खोजेपछि महाधिवेशनस्थलमा रहेका एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले आफ्नै पार्टीको अधिवेशनलाई अवरोध नगर्न निर्देशन दिएपछि कार्यकर्ताहरूको विरोध साम्य भएको थियो।
































