मङ्सिर १ , जाजरकाेट
यसअघि गएकाे हप्ता चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको जाजरकोटमा चिसोकै कारण फेरी दुई जना वृद्धको ज्यान गएकाे छ । गत कार्तिक १७ गते गएको भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको ज्यान गएकाे हाे ।
जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयोकार्की र सिंह दुवै दमका दीर्घरोगी भएका र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको ज्यान गएकाे बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएको तथा बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको बताउनु भयो । प्रजिअ सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो।
































