५ फागुन,सुर्खेत –
सुर्खेतको भेरीगंगा नगरपालिकामा फागुन १ गतेदेखि सुरु भएको एचपिभी खोप अभियान आज सम्पन्न भएको छ। भेरीगंगा नगरपालिकामा फागुन १ गतेदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरिएको थियो। देशैभर माघ २५ गतेदेखि सुरु भएको खोप अभियान फागुन १५ गतेसम्म संचालन हुनेछ। यो अभियान पालिका अनुसार फरक फरक मितिमा संचालन भईरहेको छ।

देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ। अभियानकै क्रममा भेरीगंगा नगरपालिकामा पनि गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई पनि सोही अभियान अन्तर्गत खोप लगाईएको छ। भेरीगंगा नगरपालिकामा यस अभियानमा ६ सय ३२ जनालाई जना किशोरीलाई HPV खोप लगाइएको छ। नजिकको विद्यालय र स्वास्थ्य सस्था मार्फत खोप अभियान संचालन भएको थियो।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ।
































