५ फागुन, सुर्खेत-
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट लागूऔषध (ब्राउनसुगर) सहित दुई महिला पक्राउ परेका छन्। फागुन ४ गते राति करिब ११ बजे लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा पक्राउ परेका दुवै महिलाको साथबाट शुद्ध ८ ग्राम ०६ मिलिग्राम लागूऔषध (ब्राउनसुगर) बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–०४ बस्ने वर्ष अन्दाजी २० की माया नेपाली र सिही ठाउँ बस्ने वर्ष अन्दाजी २८ की संगिता वि.क. रहेका छन्। बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुद्दा दर्ता गरिएको छ। हाल उनीहरूमाथि म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
































