४ फागुन,सुर्खेत-
सुर्खेतको सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा आजदेखि एचपिभी खोप अभियान सुरु भएको छ। सिम्ता र गुर्भाकोटमा आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरिएको हो। देशैभर माघ २५ गतेदेखि सुरु भएको खोप अभियान फागुन १५ गतेसम्म संचालन हुनेछ। यो अभियान पालिका अनुसार फरक फरक मितिमा संचालन भईरहेको छ।
देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । अभियानकै क्रममा गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई पनि सोही अभियान अन्तर्गत खोप लगाईने छ। सिम्ता गाउँपालिकामा एचपीभी खोप लगाउने किशोरीको संख्या दुई सय ६९ जना रहेको छ भने आज एक सय २८ जनालाई खाेप लगाएकाे छ। यस्तै गुर्भाकोट नगरपालिकामा पाँच सय ९३ जनालाई खोप लगाईने छ। खोप अभियान फागुन ४ र ५ गते संचालन हुनेछ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ।
































