
२ फागुन, सल्यान-
कालिमाटी गाउँपालिका वडा नं. ५ बालुवामा पोषणमैत्री वडा दिगो बनाउने उद्देश्यका साथ लक्षित समुदायलाई सहयोग तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडालाई पोषणमैत्री र आत्मनिर्भर बनाउने अभियानअन्तर्गत १४२ घरधुरीलाई तरकारी उत्पादनका लागि उन्नत बीउ वितरण गरिएको छ। यसले स्थानीयस्तरमै ताजा तथा पोषणयुक्त तरकारी उत्पादन बढाई परिवारको आहार विविधिकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, दुहुना भैंसी पालन गर्ने किसानलाई क्याल्सियम तथा आवश्यक औषधि वितरण गरिएको छ। पशु स्वास्थ्य सुदृढ भएसँगै दूध उत्पादन वृद्धि र किसानको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ। कार्यक्रमअन्तर्गत **‘सुनौलो हजार दिन’**का आमाहरूलाई अण्डा वितरण गरिनुका साथै पोषणसम्बन्धी प्रशिक्षण पनि प्रदान गरिएको थियो। गर्भावस्थादेखि बच्चाको दुई वर्षसम्मको अवधिलाई सुनौलो हजार दिनका रूपमा लिइने र यस अवधिमा उचित पोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले यस्ता कार्यक्रमले कुपोषण न्यूनीकरण, स्वास्थ्य सुधार र दिगो विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा पालेका अध्यक्ष दान बहादुर खत्री,उपाध्यक्ष सन्सिलता वली डिसी,प्रशासन शाखा प्रमुख यज्ञ बहादुर खत्री,लगाएतको उपस्थिति रहेको थियो। वडाध्यक्ष टोप बहादुर कार्कीको अध्यक्षता एवं पालिका प्रमुख दान बहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

































