
१७ माघ,सल्यान-
सल्यानको कालिमाटी गाउँपालिकामा सांगीतिक पीटी प्रार्थना र उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। कालिमाटी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न तीनदिने सांगीतिक पीटी प्रार्थना तथा व्यवहारिक उत्प्रेरणा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय प्रशिक्षक तथा अभियन्ता हरिश वलीको विशेष सहजीकरण रहेको थियो। 
उक्त कार्यक्रमले विद्यालयहरूमा विद्यार्थीहरूको दैनिक प्रार्थना तथा पीटीसँग सम्बन्धित गतिविधिहरूलाई व्यवस्थित बनाउने, सिकाइ र शिक्षण प्रक्रियामा सकारात्मक सोचको विकास गर्ने तथा सिकाइलाई व्यवहारमा रूपान्तरण गर्न महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ। साथै, अभिभावकको ममता र त्यसले बालबालिकाको बालमनमा पार्ने प्रभावबारे गहिरो छलफल गरिएको थियो।

कार्यक्रमले समग्र शैक्षिक विकास र उन्नयनका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो त्रिकोणात्मक सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा एक कोशेढुंगाको काम गरेको आयोजकले जनाएको छ। कार्यक्रमका क्रममा सहभागीहरू भावुकसमेत बनेका थिए। हाँसो, आँसु र संवेदनाले भरिएको वातावरणका बीच प्रस्तुत सन्देश भने ठोस, दिगो र व्यवहारिक रहेको सहभागीहरूको प्रतिक्रिया थियो। स्थानीय स्तरमा शैक्षिक गुणस्तर सुधारका लागि यस्ता प्रेरणादायी कार्यक्रमहरू प्रभावकारी हुने विश्वास लिइएको छ।

































