१३ फागुन,सुर्खेत-
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुर्खेत क्षेत्र नं. १ बाट उम्मेदवार टेकरबहादुर सिंहले आफ्नो विस्तृत चुनावी प्रतिबद्धता (वाचा) पत्र सार्वजनिक गर्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका सिंहले सुर्खेतका ग्रामीण तथा शहरी जनताको आवश्यकता केन्द्रमा राख्दै विकास, सुशासन र रोजगारीलाई मुख्य एजेन्डा बनाउनु भएको हो। वाचा पत्रमा खेती, पशुपालन, सिंचाइ, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी र सडक पूर्वाधारलाई एकीकृत रूपमा अघि बढाउने स्पष्ट योजना उल्लेख गरिएको छ। सुर्खेतका चिङ्गाड, सिम्ता, लेकबेशी, गुर्भाकोट, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १५ र १६ तथा सम्बन्धित वडाहरूको भौगोलिक र आर्थिक अवस्थाअनुसार फरक–फरक कार्यक्रम तय गरिएको छ।

गुर्भाकोटमा बाँचा:
व्यवसायीक कफि र चियाखेती सुरू गरिनेछ। ड्रागन खेतीको अझै व्यवसायीकरण गरी यसको प्रशोधन गरेर राष्ट्रिय अन्तर्राष्ट्रीय बजारको खोजी गरिनेछ। बाख़ा र गाई, भैंसी पालनलाई जोड दिइनेछ । स-साना खोलाहरूमा प्राकृतिकरूपमा माछापालनको सम्भावना खोजिनेछ। वडाखोली वरपर होमस्टे निर्माण, धारापानीमा टिमुर पकेट क्षेत्र र गुर्भाकोटका धेरै ठाउँमा कागती खेती, खटाडलाई पर्यटन केन्द्रको रूपमा विकास गरिने छ। मालारानी र शिवगुफामा पर्यटन पूर्वाधारको विकास गरिने, भेरी किनारको एक स्थानमा औद्योगिक ग्रामको स्थापना गरिनेछ। मेहेलकुना आसपासमा क्रिकेट र बोटेचौर आसपासमा फुटबल रंगशाला बनाउने योजना अधि सारिनेछ।
सिम्तामा बाँचा:
ठूलो अलैंची खेतीको राम्रो सम्भावना भएकोले व्यवसायीक अलैंची खेती सुरू गरिनेछ। मौरीपाल, गाय, भैंसी र बाख़ापालनलाई व्यवसायीकरण गरिनेछ। बदामखेती (ममफली) खेती, तरूल र गन्जीको व्यवसायिक खेती गरिनेछ। अम्वा, सुन्तला र कागतीको पकेट क्षेत्र बनाइने, व्यवसायीकरूपमा टिमुर खेती, प्राकृतिक रूपमा माछा पालनको सम्भावना खोजिनेछ। तरकारी र खाद्यान्नवाली उत्पादन गर्न र बढ़ी आम्दानी गर्न प्रविधिले युक्त बनाइनेछ। राजकाँडा दरबार र बड़ालेकको पर्यटन विकास गर्न योजना बनाइनेछ। कोटको थुम्कोलाई गन्तव्य बनाउन सुर्खेत जाजरकोट सड़कखण्डको भेरी नदी पार गरेर केवलकार बनाउन
निजीक्षेत्रसँग सहकार्य गरिनेछ। तामाखानी सञ्चालनको सम्भावना खोजिनेछ।
चिङ्गाडमा बाँचा:
खासगरी फलफूल खेती (सुन्तला, नास्पती), बाखरापालन, गाईभैंसी पालनलाई जोड दिइनेछ। अलैंची र कफी खेतीको व्यवसायीक उत्पादनमा योजना बनाइनेछ। माछापालन, तरकारी खेतीलाई जोड दिइनेछ। बहुमूल्य पत्थर र दुंगाहरूको उत्खनन र बजारीकरण, घनघने र बुरूसे झरनालाई पर्यटकीय गन्तव्य बनाइनेछ। अदुवा, बेसार प्रशोधन केन्द्र खोल्न प्रयास गरिनेछ ।
वीरेन्द्रनगर १५ र १६ मा बाँचाः
मासुजन्य बाख़ा र कुखुरापालन, दुधजन्य भैंसी र गाईपालन, तरकारी, फलफूल, मौरीपालनको पकेट क्षेत्रको रूपमा विकास, कफी र चियाखेतीको व्यवसायीक उत्पादनको योजना बनाई लागू गरिनेछ । आलुखेती पकेट क्षेत्र बनाउन विशेष पहल गरिने छ।
लेकवेशीमा बाँचा:
पशुपालन र तरकारी र फलफूल खेती विशेष क्षेत्र बनाउने। ड्रागन खेतीलाई विस्तार गरी प्रशोधन गरेर जुस र जाम बनाई विदेश निर्यातको संभावना खोजिनेछ। सरकारले घोषणा गरेको तर काम नगरेको औद्योगिक क्षेत्र स्थापनाको काम २ वर्षभित्रै सम्पन्न गरिनेछ।
भेरीगंगामा बाँचाः
अर्गानिक क्षेत्रको रूपमा यसको विकास गरिनेछ । साविकको लेकपराजुल गाविसमा दुधजन्य र मासुजन्य पशुपालन, माछापालन, तरकारी, फलफूल र ड्रागन खेतीलाई विशेष जोड दिइनेछ । सिद्धचुलीको आधारभूत संरचनाको विकास गरी यो क्षेत्रलाई पर्यटन गन्तव्य बनाइनेछ। मनिराम काँडा र सिद्धचुलीमा होमस्टे, प्राकृतिक बासस्थानको झल्को दिनेगरी निजीक्षेत्रसँगको सहकार्यमा “फार्मस्टे” सञ्चालन गरिनेछ। चिया खेती र कफी खेतीको सम्भावना खोजिनेछ। बेमौसमी तरकारी खेतीको प्रवर्द्धन गरिनेछ भने भेरी नदी किनाराका शहरोन्मुख बस्तीहरुलाई हाईटेक बजारको रूपमा विकास गरिनेछ । छिन्चुलाई हाईटेक शहर, हर्रे आसपासका क्षेत्रमा कृषि पर्यटनको योजना लागू गरिनेछ। खासगरी अदुवा, बेसार केरा खेतीलाई प्राथमिकतामा राखिनेछ।

खानेपानीमा बाँचा:
साना तथा सहरी खानेपानी आयोजना अधि बढ़ाइनेछ । सबै घरधुरीलाई १/१ धारा खानेपानीको व्यवस्था गरिनेछ।
सिचाईमा बाँचा:
भेरी करिडोर लिफ्टिड़् सिंचाइ, थक्लेनी सिंचाई, रामघाट सिंचाई, लेकबेशीको वडा नं १, ७, ८ मा सिंचाई अधि बढ़ाईनेछ । सबै सुख्खा कृषियोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको छ।
स्वास्थमा बाँचा:
मेहेलकुना अस्पताललाई अझै सुविधा सम्पन्न बनाउने , सबै पालिकाहरूमा १५ बेडको अस्पताल सुरू, निःशुल्क औषधी वितरण, नयाँ प्रविधिसहितको विशेषज्ञ डाक्टरी सेवा। माईनर अप्रेसन पालिकाका अस्पतालमा सुरू गरिनेछ। चौबीस घण्टा ईमर्जेन्सी सेवा सुरू गरिनेछ। स्वयंसेवीकाहरुलाई मासिक तलबभत्ता, कार्यालय सहयोगी र बाल विकास शिक्षकहरुको तलबभत्ता समयानुकूल वृद्धि गरिनेछ।
रोजगारमा बाँचाः
उद्यमशीलताको विकास, साना तथा लघु घरेलू उद्योगहरुको स्थापना र कृषिमा बिना व्याज ऋण सुविधा । रोजगारी वृद्धिका लागि नीजिक्षेत्रलाई सक्षम बनाइनेछ । स्वरोजगारलाई उच्च प्राथमिकतामा राखिनेछ।
भूमिहीन र सुकुम्बासीलाई बाँचा:
सबै भूमिहीन र सुकुम्बासीलाई घरजग्गा, खेतीयोग्य जमीन, अस्थायी सेतो पूर्जालाई स्थायी गरिनेछ। अव्यवस्थित बसोबासीलाई व्यवस्थित गरिनेछ।

कृषिमा बाँचाः
जनताले उत्पादन गरेको कृषि उपजको बजार मूल्य तोक्ने र बिक्री वितरणको जिम्मा सरकारले लिनेछ। हरेक गाउँमा कृषिजन्य बस्तु संकलन केन्द्र स्थापना गरेर उत्पादित वस्तुलाई नजिकैको बजारमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ। ब्याज तिर्न नपरने गरी सुलभ दरमा कृषि “प्रोजेक्ट लोन” सुरू गरिनेछ । कृषि प्राविधिहरूले किसानको बारीमै गएर सुझाव दिने। हरेक किसानको महिनाको एकदिन भिजिट गरेर सुझाव सल्लाह दिने कामको थालनी गरिनेछ। बुद्धचित्रको खेतीका लागि सिम्ता र चिड़्गाडमा काम सुरू गरिनेछ।
सड़कतर्फ बाँचा:
क) छिन्चु घारीवन हुँदै काल्चे कालिमाटी पक्की सड़क,
ख) समजी पुलदेखि चिप्लेसम्म पक्की सड़क,
ग) गोजी आली घिमिने हुँदै मिलडांडा जोड़ने पक्की सड़क,
घ) भुतचोक हुँदै साटाखानी टिमुरे गर्पन सड़क,
ड) चिड़्गाडदेखि मटेला जाजरकोट पुग्ने सड़क,
च) कल्यान, रानागाउँ, नेटा गोगने, जितेजुवा खनेटा हुँदै ऋषि राजमार्ग जाजरकोट शिवालय पुग्ने सड़क,
छ) जामुने बजार काप्रीचौर हुँदै चोल्पा, भोटेचुली गुमी जोड़ने सड़क,
ज) बोटेचौर धारापानी टिमुरे सल्यान जोड़ने सड़क,
झ) सिर्जना बजार ठाहर काफलकोट, चौरथाला घिमाने हुँदै रजेना जोड़ने सड़क,
ञ) सिम्ता गोजीदेखि जुम्ल्या हुँदै ओडालचौरबाट गुर्भाकोट नगरपालिका वडा नं १० को भेडाबारीसम्म जोड्ने सड़क,
ट) खारखोला, कुईनेपानी, मंगलेधनारी, पाखापानी, सातले, रानागाँउ, आपगौरा, नयाँगाउँ, कागते, भैसेभर्ल्यनी, पन्डितकाल्ना सड़क,
ठ) वीरेन्द्रनगरको नेवारेदेखि रतु गर्पन पाम्का रजेनाहुँदै गोगनेबाट दह सिम्ता ९ को दुनि पसुनाउला टमटेना इन्द्रमार्ग गोजी बजारसम्म पुग्ने सड़क।
उम्मेदवार सिंहले वाचा पत्र सार्वजनिक गर्दै भन्नुभयो , “यो कागजी प्रतिबद्धता होइन, जनतासँगको इमानदार सम्झौता हो। सुशासन, पारदर्शिता र परिणाममुखी काममार्फत सुर्खेत–१ लाई उदाहरणीय क्षेत्र बनाउने मेरो संकल्प हो।” अन्त्यमा उहाँले सबै मतदातालाई घण्टी चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन अपिल गर्नु भएको छ ।

































