१२ फागुन,सुर्खेत-
सुर्खेतको गुर्भाकोट नगरपालिका–१० स्थित श्री भेरी माध्यमिक विद्यालय घुमखहरेले विद्यालय हाताभित्र तथा वरपर अस्वस्थकर खाना (जंक फुड) को बिक्री तथा उपभोगमा प्रतिबन्ध लगाएको छ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको संयुक्त सहभागितामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको निर्णयअनुसार उक्त प्रतिबन्ध लागू गरिएको हो। विद्यालयले २०८२ फागुन १२ गतेदेखि विद्यालय हातादेखि ५० मिटर वरपरसम्म जंक फुड बिक्री–वितरण तथा उपभोग गर्न नपाइने व्यवस्था गरेको जनाएको छ।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै अस्वस्थकर खानाको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय लिइएको हो। प्रतिबन्धको उल्लंघन गरेमा पहिलो पटक सचेत गराइने, दोस्रो पटक प्रतिव्यक्ति २५ रुपैयाँ, तेस्रो पटक प्रतिव्यक्ति ५० रुपैयाँ जरिवाना गरिने तथा सोभन्दा बढी दोहोरिएमा प्रचलित नियमअनुसार आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने विद्यालयले स्पष्ट पारेको छ। प्रधानाध्यापक चन्द्र बहादुर वलीद्वारा हस्ताक्षरित सूचनामा विद्यालयसँग सम्बन्धित सबै पक्षलाई निर्णयको पालना गर्न अनुरोध गरिएको छ। विद्यालयले यो कदमले विद्यार्थीहरूको स्वास्थ्य, पोषण र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ।

































