९ फागुन, सल्यान-
सल्यान जिल्लाको कालिमाटी गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिने लिफ्ट खानेपानी तथा लिफ्ट सिँचाइ योजनाहरूको ठेक्का प्रक्रिया सम्पन्न भएको छ। गाउँपालिकाले सरोकारवालाहरूलाई जानकारी दिँदै अब योजनाहरू कार्यान्वयन चरणमा प्रवेश गर्ने जनाएको छ।

गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीका अनुसार अनुसार खानेपानीतर्फ वडा नं. १ मा सातलखोला लिफ्ट खानेपानी योजना, वडा नं. २ र ३ मा सुकाली नयाँ बन खानेपानी योजना तथा खैराटे मर्चेबारी (टाटके–राजिटाकुरा) खानेपानी योजना सञ्चालन हुनेछन्। त्यस्तै वडा नं. ५ मा लेकगाउँ काल्चे खानेपानी योजना र वडा नं. ६ मा ज्यामिरे जल्जला खानेपानी योजना कार्यान्वयन गरिनेछ। सिँचाइतर्फ वडा नं. ७ मा घुईयाबारी लिफ्ट सिँचाइ योजना, वडा नं. ५ मा हिले जुमखोला सिँचाइ योजना, वडा नं. ४ मा सरूखोला सिँचाइ योजना तथा वडा नं. १ मा सिद्धगुफा सिँचाइ योजना सञ्चालन गरिने जानकारी दिइएको छ।

गाउँपालिकाले सबै योजनाको टेन्डर प्रक्रिया पूरा भइसकेकाले अब निर्माण कार्य छिट्टै सुरु हुने जनाएको छ। यी योजनाबाट स्थानीय बासिन्दाले स्वच्छ खानेपानीको सुविधा पाउने र कृषिउत्पादनमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ। निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनी तथा स्थानीय सरोकारवालासँग सहकार्य गरिने गाउँपालिकाले जनाएको छ।

































