५ फागुन,सुर्खेत-
सुर्खेतको सिम्ता गाउँपालिकामा फागुन ४ गतेदेखि सुरु भएको एचपिभी खोप अभियान आज सम्पन्न भएको छ। सिम्ता गाउँपालिकामा फागुन ४ गतेदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरिएको थियो। देशैभर माघ २५ गतेदेखि सुरु भएको खोप अभियान फागुन १५ गतेसम्म संचालन हुनेछ। यो अभियान पालिका अनुसार फरक फरक मितिमा संचालन भईरहेको छ।

देशभरिका कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ । अभियानकै क्रममा सिम्ता गाउँपालिकामा पनि गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने किशोरी र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई पनि सोही अभियान अन्तर्गत खोप लगाईएको छ। सिम्ता गाउँपालिकामा यस अभियानमा दुई सय ६९ जना किशोरीलाई HPV खोप लगाइएको छ। पहिलो दिन फागुन ४ गते १ सय २८ जनालाई खोप लगाइएको थियो भने दोस्रो दिन बाँकी विद्यार्थीलाई खोप लगाइएको हो। नजिकको विद्यालय र स्वास्थ्य सस्था मार्फत खोप अभियान संचालन भएको थियो।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध एचपिभी खोप लगाउनुपर्ने हुन्छ । नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमा चार जनाको ज्यान जाने गरेको छ । तर यो क्यान्सर रोग एचपिभी खोपबाट रोक्ने सकिने छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ।































