५ फागुन, सुर्खेत-
सुर्खेतको भेरीगंगा नगरपालिका–११ मा अवस्थित श्री शिखर माध्यमिक विद्यालय, रामघाटले आयोजना गरेको दुई दिवसीय विद्यालय खेलकुद महोत्सव २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। “शिखर माविको प्रतिबद्धताः अनुशासन, एकता र उत्कृष्टता” भन्ने मूल नाराका साथ फागुन ४ गते सुरु भएको महोत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम सुवेदीको अध्यक्षता, वडाध्यक्ष जयबहादुर नेपालीको प्रमुख आतिथ्यता तथा शिक्षक–अभिभावक संघका अध्यक्ष उपेन्द्रराज वली, विद्यालयका प्रधानाध्यापक जनकबहादुर सिंह र रामघाट प्रहरी चौकीका प्रमुख तथा प्रतिनिधिको विशेष आतिथ्यतामा पानसमा बत्ती बालेर तथा बेलुन आकाशमा उडाएर उद्घाटन गरिएको थियो।

फागुन ४ र ५ गते दुई दिनसम्म सञ्चालन भएको महोत्सवमा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई सगरमाथा, धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे गरी चार सदनमा विभाजन गरी जम्मा १५ वटा खेलकुद विधामा सदनात्मक प्रतिस्पर्धा गराइएको थियो। साथै शिक्षक, कर्मचारी, विव्यस तथा शिअसं पदाधिकारीहरू बीच घैँटो फोड प्रतियोगिता पनि खुला रूपमा सञ्चालन गरिएको थियो। सदनात्मक खेलकुदतर्फ सगरमाथा सदनले ८ स्वर्ण र ८ रजत पदकसहित प्रथम स्थान हासिल गरेको छ। माछापुच्छ्रे सदन ८ स्वर्ण र ४ रजतसहित दोस्रो, अन्नपूर्ण सदन ७ स्वर्ण र १० रजतसहित तेस्रो तथा धौलागिरी सदन ७ स्वर्ण र ८ रजतसहित चौथो स्थानमा रहन सफल भएका छन्। साथै विभिन्न विधाबाट ६ जना खेलाडीलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ।

शिक्षक–कर्मचारीतर्फको घैँटो फोड प्रतियोगितामा शिक्षक बिमल कुमार खत्री प्रथम तथा शिक्षक–अभिभावक संघका अध्यक्ष उपेन्द्रराज वली दोस्रो स्थान हासिल गर्नुभएको छ। विजेता तथा उपविजेता सदन र खेलाडीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफी प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक जनकबहादुर सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार लगातार दुई वर्ष एउटै सदनले जितेमा उक्त ट्रफी स्थायी रूपमा प्रदान गर्ने वा सो बराबरको नगद पुरस्कार दिने व्यवस्था समेत गरिएको छ।

महोत्सवले विद्यार्थीहरूको शारीरिक, मानसिक, सिर्जनात्मक तथा रचनात्मक विकासका साथै उनीहरूको प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको प्रधानाध्यापक सिंहले बताउनुभयो। विद्यालयका गहना विद्यार्थी नै भएको र महोत्सवमा उनीहरू सबैभन्दा बढी उत्साहित तथा खुशी देखिएकाले कार्यक्रमको सार्थकता पुष्टि भएको शिक्षक–अभिभावक संघका अध्यक्ष उपेन्द्रराज वलीले उल्लेख गर्नुभयो। अन्त्यमा, महोत्सव सफल पार्न सहयोग गर्ने सबै शिक्षक, कर्मचारी, अभिभावक, जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सहयोगी हातहरूप्रति विद्यालय परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।
































