५ फागुन, सुर्खेत–
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणको ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। मिति २०८२/११/०४ गते राति करिब १० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा निगरानी तथा जाँचका क्रममा चिङ्गाड गाउँपालिका–४ निवासी अन्दाजी ४७ वर्षीय ललित चन्दलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी टोलीमाथि हातपात तथा आक्रमण गर्दै ठूलो परिमाणको लागूऔषध ब्राउनसुगरसहित भाग्न खोजेपछि प्रहरीले बल प्रयोग स्वरूप एक राउण्ड हवाई फायर गरेको जनाइएको छ। त्यसपछि उनलाई नियन्त्रणमा लिई रितपूर्वक खानतलासी गर्दा शुद्ध ३७ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका चन्दलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुद्दा दर्ता गरिएको छ भने अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

































