२ फागुन, सुर्खेत-
गुर्भाकोट नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी विशेष सेवा तथा मनोसामाजिक शिविर सफलतापूर्वक सम्पन्न भएको छ। नगर स्वास्थ्य शाखाको आयोजनामा तथा सिएमसी नेपाल, सुर्खेतको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर सिटीहल मेहलकुना, खैरनीमा सञ्चालन गरिएको थियो।

शिविरमा स्वास्थ्य शाखा, आधारभूत स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको सक्रिय सहयोग रहेको थियो। शिविरको अनुगमन नगरप्रमुख हस्त पुन तथा उप–प्रमुख मैना विकले गर्नुभएको थियो। सम्पन्न शिविरमा ६० जना सेवाग्राहीले मानसिक स्वास्थ्यसम्बन्धी सेवा लिएका थिए। स्वास्थ्य शाखा प्रमुख पूर्ण घर्तीका अनुसार सेवा लिने अधिकांश बिरामीहरू फलोअपमा आएका थिए, जसले मानसिक स्वास्थ्य सेवाप्रति स्थानीयको बढ्दो सचेतना र विश्वासलाई संकेत गरेको छ।
कार्यक्रममा कर्णाली प्रदेश कालागाउँका मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शी लगायत विशेषज्ञ डाक्टरको सहभागितामा मानसिक समस्या पहिचान, परामर्श, सल्लाह तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो। शिविरमार्फत स्थानीय बासिन्दाहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्न, मनोसामाजिक परामर्श प्राप्त गर्न तथा आवश्यक उपचार सेवामा पहुँच विस्तार गर्ने लक्ष्य राखिएको आयोजक गुर्भाकोट नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

































