२ फागुन, सुर्खेत–
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सुर्खेतमा नेकपा (एमाले) मा प्रवेश गर्ने लहर तीव्र बनेको छ। सुर्खेत निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पूर्वी सुर्खेतका विभिन्न स्थानमा बिहीबार मात्रै २५ घरपरिवारका दर्जनौं व्यक्तिहरू एमालेमा प्रवेश गरेका छन्। लेकबेशी नगरपालिका–१० को बडीपाटी तथा लेकबेशी–९ को रातटाँडी लगायतका क्षेत्रमा नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नेहरूमा अधिकांश युवा रहेको बताइएको छ। उनीहरूले मुलुकको विकास र समृद्धिका लागि एमाले नै उपयुक्त विकल्प भएको ठहर गर्दै कांग्रेस परित्याग गरेको बताएका छन्।

चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममार्फत मतदाता भेटघाट गरिरहेका एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार धुव्रकुमार शाही सहितका नेताहरूले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्नु भएको हो। सो अवसरमा उम्मेदवार शाहीले आफूहरूप्रति मतदाताको साथ, समर्थन र शुभेच्छा दिनप्रतिदिन बढ्दै गएको दाबी समेत गर्नु भयो ।उहाँले पूर्वी सुर्खेत क्षेत्र एमालेमय भइसकेको उल्लेख गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने लक्ष्यसहित चुनावी अभियानलाई तीव्र बनाइएको जानकारी दिनुभयो।

































