
१ फागुन , सुर्खेत–
सुर्खेतको सिम्ता गाउँपालिका मा प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकहरूको १० दिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना, समाज जागरण केन्द्र (स्याक) नेपाल को समन्वय तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवा को प्राविधिक सहयोगमा मिति २०८२ साल माघ २१ गतेदेखि सञ्चालन भएको तालिम आज औपचारिक रूपमा समापन गरिएको हो।

गाउँपालिकाका बालविकास संयोजक कथा बहादुर बुढाका अनुसार सिम्ता गाउँपालिकाभित्र विद्यालय र समुदायमा आधारित गरी जम्मा ६० वटा बालविकास कक्षा सञ्चालनमा छन्। अघिल्लो वर्ष २० जना बालविकास शिक्षकलाई तालिम प्रदान गरिसकिएको र यस वर्ष बाँकी रहेका ४० विद्यालयका बालविकास शिक्षकलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको हो।

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा, स्याक नेपालको सहजीकरण तथा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा जामुनेबजारमा सम्पन्न उक्त तालिमले बालबालिकाको समग्र विकास, कक्षा व्यवस्थापन, खेल–आधारित सिकाइ र अभिभावकसँगको सहकार्य जस्ता विषयमा शिक्षकहरूको सीप र दक्षता अभिवृद्धि गरेको आयोजकले जनाएको छ।
तालिम समापन कार्यक्रम गाउँपालिका शिक्षा शाखा प्रमुख बुद्धि बहादुर गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द, उपाध्यक्ष गोमा शर्मा रेग्मी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। तालिम सहजीकरण सेतो गुराँस राष्ट्रिय बालविकास सेवा, ललितपुरका प्रशिक्षक ललि बाह्रघरेले गर्नुभएको थियो। आयोजकका अनुसार यस्ता तालिमले प्रारम्भिक बालविकास शिक्षालाई गुणस्तरीय बनाउँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

































