
१ फागुन,सुर्खेत-
राष्ट्रिय प्राकृत स्रोत तथा वित्त आयोगले स्थानीय तहको कार्य सम्पादन मुल्यांकनको नतिजा सार्वजनिक गरेको छ। हरेक वर्ष स्थानीय तहको कार्य सम्पादन मुल्यांकन सार्वजनिक गर्दै आएको आयोगले आर्थिक वर्ष २०८१-०८२ को नतिजा सार्वजनिक गरेको हो । तिन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानमा कार्य सम्पादन मुल्यांकनमा छत्रेश्वरि गाउँपालिका पहिलो हुँदा कुमाख गाउँपालिका दशौँ स्थानमा रहेको छ।

प्राप्त अंकमा छत्रेश्वरी गाउँपालिका ७२.२५ अंकसहित पहिलो बनेको छ। दोस्रोमा रहेको बनगाड कुपिण्डे नगरपालिकाले ६६.९७ अंक प्राप्त गरेको छ भने तेस्रो भएको कालिमाटी गाउँपालिकाले ६६.७१ अंक प्राप्त गरेको छ। चौथो नम्बरमा रहेको कपुरकोट गाउँपालिकाले ६४.५२ , पाँचौमा रहेको दार्मा गाउँपालिकाले ६३.४२ र छैटौंमा रहेको शारदा नगरपालिकाले ६१.१२ अंक पाएको छ । सातौंमा रहेको बागचौर नगरपालिका ५७.५८ अंक, आठौमा रहेको त्रिवेणी गाउँपालिकाले ५५.८९ अंक,नवौंमा रहेको सिद्धकुमाख गाउँपालिकाले ५३.५२ अंक र अन्तिममा रहेको कूमाख गाउँपालिका ५२.५२ अंक प्राप गरेको छ।

आयोगले कार्य सम्पादन मुल्यांकनका लागि १७ वटा सुचक तोकेको छ । तिनै सुचकको आधारमा स्थानीय तहको कार्य सम्पादन मुल्यांकन आयोगले गर्दै आएको छ । सूचकहरुमा नगर तथा गाउँ कार्यपालिको हरेक वर्ष असार १० गते नीति तथा कार्यक्रम र बजेट पेश गरे नगरेको, असार मसान्तभित्र पारित गरे-नगरेको र आयव्यव प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे-नगरेको रहेका छन्। यस्तै, बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेको, राजश्व संकलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजश्व संकलन रकम, मुल्यांकन गरिएको अघिल्लो आर्थिक वर्षको यथार्थ राजश्व संकलन रकम खुलाएको हुनुपर्ने सूचकमा समावेश छ।

सूचकहरुमा कुल विनियोजित र खर्च रकम, कुल पुँजिगत विनियोजन र खर्च, लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु रकम र स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्रको प्रयोग गरे-नगरेको छन् । स्थानीय तहले आवधिक योजना तर्जुमा गरे-नगरेको, कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समुहका विद्यार्थी खुद भर्नादर, कक्षा ८ मा रहेका विद्यार्थी संख्या, शैक्षिक शत्रमा कक्षा ९ मा रहेका विद्यार्थी संख्या, सामुदायिक विद्यालयवाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्या र सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा कम्तीमा डी वा सो भन्दा उच्च ग्रेडसहित उतिर्ण विद्यार्थी संख्यालाई कार्य सम्पादन मुल्यांकनको सूचकमा समावेश छ ।

एक आर्थिक वर्षमा अनुमानित गर्भवति महिलाको संख्या, चार पटक गर्भ जाँच गर्ने महिलाको सख्या, संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या, २४ महिनासम्मका वालवालिकाको अनुमानित संख्या र पुर्ण खोप पाएका बालबालिकाको संख्या पनि आयोगले मुल्यांकन गर्ने कार्य सम्पादन मुल्यांकनको सुचककमा राखेको छ । आयोगले सार्वजनिक गरेको नतिजामा चित्त नबुझे सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित स्थानीय तहलाई पुनरालोकन गर्न आग्रह गरेको छ।
































