माघ २९, सुर्खेत-
गुर्भाकोट नगरपालिका–१० स्थित श्री भेरी माध्यमिक विद्यालय, घुमखहरेमा वित्तीय साक्षरता अभिवृद्धि तथा जङ्कफुड (पत्रु खाना) न्यूनीकरण सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिकाको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको प्राविधिक सहयोग तथा विद्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर खत्रीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जङ्कफुडको बढ्दो प्रयोगले बालबालिकाको स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव, त्यसको नियन्त्रण तथा रोकथामका उपायबारे गुर्भाकोट नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत यज्ञ पन्तले सहजीकरण गर्नुभएको थियो। उहाँले सन्तुलित आहार, घरमै तयार गरिने पोषिलो खानाको महत्व र विद्यालय–परिवारको साझा जिम्मेवारीबारे प्रकाश पार्नुभयो।
त्यसैगरी, शुभ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गणेश कुमार चन्दले वित्तीय साक्षरताको महत्व, बचत गर्ने बानीको विकास, आम्दानी–खर्च व्यवस्थापन तथा साना उमेरदेखि नै आर्थिक अनुशासन कायम गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभयो। विद्यालयले विद्यार्थीमा स्वास्थ्यप्रति सचेतना र आर्थिक व्यवहारप्रति जिम्मेवारी विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। सहभागीहरूले कार्यक्रम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका छन्।

































