
२५ माघ,सुर्खेत-
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोग नेपालले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न पुनः सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ। निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार निर्वाचन आचारसंहिता २०८२ को दफा १३ अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममार्फत प्रचार–प्रसार तथा घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ।

तर, पटक–पटक छलफल, अन्तरक्रिया तथा सूचना प्रकाशनमार्फत जानकारी गराइसकिँदा पनि केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरूले तोकिएको समयभन्दा अगावै कोणसभा गर्ने, प्रचार सामग्री प्रकाशन–प्रसारण गर्ने र घरदैलो कार्यक्रममार्फत मतदातालाई प्रभाव पार्ने कार्य गरिरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ। यस्ता कार्यहरू निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै आयोगले तत्काल रोक्न अनुरोध गरेको छ। यदि कसैबाट आचारसंहिता उल्लंघन गरी प्रचार–प्रसार गरिएको प्रमाण फेला परेमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।

यसैगरी, सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमबाट “कसलाई मत दिनुहुन्छ?” जस्ता प्रश्न सोधेर मतदाताको गोपनीयता भंग गर्ने, कसको जित्ने सम्भावना बढी छ भन्ने समाचार प्रकाशन गर्ने तथा मत सर्वेक्षण गर्ने गतिविधि पनि भइरहेको आयोगको भनाइ छ। यस्तो कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ बमोजिम उल्लंघन हुने भएकाले यस्ता गतिविधि नगर्न–नगराउन कडाइका साथ आग्रह गरिएको छ। निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मदन मगराती तथा सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत डिल बहादुर कार्कीले निर्वाचनलाई मर्यादित, भयरहित र निष्पक्ष बनाउन सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको बताउनु भएको छ।































