२२ माघ, सुर्खेत-
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रबाट लागुऔषध (ब्राउनसुगर) सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडा क्षेत्रमा छापा मारेको थियो।

छापा मार्ने क्रममा शंकास्पद अवस्थामा फेला परेका चार जनाको शरीर रितपूर्वक खानतलासी गर्दा उनीहरूको साथबाट शुद्ध १ ग्राम ५६० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) तथा नाइट्राजेपाम ३१ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागुऔषधसहित पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई मुद्दा दर्ता गरिएको छ। हाल उनीहरूलाई म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बूढथापाले जानकारी दिनुभयो।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–३, सुर्खेत अन्दाजी २१ वर्षको अर्जुन कुमार प्रजापति,नरहरीनाथ गाउँपालिका–९, कालिकोट बस्ने अन्दाजी १८ वर्षको रमेश रावल, वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेत बस्ने अन्दाजी २२ वर्षको ललिता सिंह ठकुरी र ठाकुरबाबा नगरपालिका–७, बार्दिया बस्ने अन्दाजी २२ वर्षको अर्जुन बुढा रहेका छन्। प्रहरीका अनुसार लागुऔषध कारोबार नियन्त्रणका लागि यस्ता अभियानलाई अझ कडा बनाइनेछ।































