२२ माघ, सल्यान
कालिमाटी गाउँपालिका वडा नं. ५ मा सुनौलो हजार दिनका आमाहरूका लागि बालपोषण भत्ता सदुपयोग सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको थियो।

अभिमुखीकरणका क्रममा पाँच वर्षमुनिका बालबालिकाका आमाहरूलाई बालपोषण भत्ताको उद्देश्य, भत्ता सदुपयोग गर्ने सही तरिका तथा बालबालिकाको समग्र पोषण सुधारका प्रभावकारी उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागी आमाहरूले प्राप्त भत्तालाई प्रभावकारी रूपमा प्रयोग गर्दै पोषणयुक्त आहार समावेश गरी आफ्ना बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन्।

कालिमाटी गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य चौकी काल्चेमा सम्पन्न कार्यक्रमले स्थानीय स्तरमै बाल कुपोषण न्यूनीकरण, स्वास्थ्य सचेतना अभिवृद्धि तथा बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा वडा नं. ५ का सुनौलो हजार दिनका आमाहरू, स्वास्थ्य आमा समूहका अध्यक्षहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, स्वास्थ्य चौकीका कर्मचारी तथा जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा गाउँपालेका पञ्जीकरण शाखा प्रमुख दीपबहादुर ओली, सहायक फिल्ड कर्मचारी गोविन्द खड्का, सूर्य किरण ओली, मोतिलाल ओली, वडा सदस्यहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।































