
२० माघ, सुर्खेत-
गुर्भाकोट नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यपुस्तक लेखनका लागि आवश्यक सूचना संकलन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कार्यक्रमलाई प्राविधिक सहयोग बुद्धचित्त एजुकेशन फाउन्डेशन प्रालिले गरेको थियो। आधारभूत तह कक्षा १ देखि ८ सम्म लागू हुने स्थानीय पाठ्यपुस्तक निर्माणको तयारीस्वरूप आयोजित उक्त कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलबीर बिक, सामाजिक विकास समितिका संयोजक वाशुदेव शर्मा, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता नगरप्रमुख हस्त पुनले गर्नुभएको थियो।
शिक्षा शाखा प्रमुख बलबीर बिकका अनुसार स्थानीय पाठ्यपुस्तक लेखनका लागि मंसिर महिनामै प्रस्ताव आह्वान गरिएको थियो। प्राप्त चार वटा प्रस्तावमध्ये छनौट प्रक्रियाबाट बुद्धचित्त एजुकेशन फाउन्डेशन प्रालिले ठेक्का प्राप्त गरेको जानकारी उहाँले दिनुभयो । फाउन्डेशनका निर्देशक अशोक सुवेदीका अनुसार प्रारम्भिक चरणमा सूचना संकलनका लागि एक हप्ताको समय निर्धारण गरिएको छ। वडास्तरबाट आवश्यक तथ्यांक संकलन सम्पन्न भएपछि पाठ्यपुस्तक निर्माणको बाँकी काम अघि बढाइनेछ। काम समयमै सम्पन्न भए शैक्षिक सत्र २०८३ को वैशाख मसान्तसम्म पाठ्यपुस्तक तयार गरी हस्तान्तरण गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो।

कार्यक्रममा स्थानीय विषयवस्तु समेट्दै १५ वटा विषय क्षेत्रमा सुझाव संकलन गरिने जनाइएको छ। ती क्षेत्रहरूमा स्थानीय भाषा, भौगोलिक अवस्था, ऐतिहासिक स्थल, सामाजिक तथा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरू, स्थानीय सम्पदा, पर्यटकीय स्थल, उद्योग व्यवसाय, चाडपर्व, कला–संगीत–खेलकुद र साहित्य, पालिका परिचय, वातावरण र हरित विद्यालय, जीवनोपयोगी सीप, वडास्तरीय पूर्वाधार तथा विशेषता, स्थानीय जडिबुटी र स्रोतसाधन, तथा पालिकाभित्रका प्रतिष्ठित सामाजिक संस्थाहरू समावेश छन्।

नगरपालिकाले स्थानीय पहिचान, संस्कृति, स्रोतसाधन र सामाजिक विविधता झल्किने सामग्री समेटेर विद्यार्थीमैत्री तथा व्यवहारिक पाठ्यपुस्तक निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। स्थानीय पाठ्यक्रम कार्यान्वयनसँगै शिक्षालाई व्यवहारसँग जोड्ने र बालबालिकामा आफ्नो स्थानप्रतिको गर्व र ज्ञान अभिवृद्धि हुने अपेक्षा गरिएको छ।































