१९ माघ,सल्यान-
जिल्ला स्वास्थ्य सेवा कार्यालय, सल्यानको आयोजनामा तथा बनगाड कुपिण्डे नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा निःशुल्क विशेष स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। आगामी मिति २०८२ माघ २४ गते सञ्चालन हुने उक्त शिविरमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालाकर्मीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। सर्वसाधारणलाई स्वास्थ्य जाँच, उपचार तथा परामर्श सेवा लिन सहज होस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको हो।

शिविरमा निःशुल्क शारीरिक परीक्षण,प्रयोगशाला परीक्षण,औषधि वितरण,नसर्ने रोग सम्बन्धी स्वास्थ्य सेवा,स्वास्थ्य परामर्श सेवाहरु उपलब्ध गराइने छ। शिविर बिहान १०:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन हुनेछ। शिविरको स्थान बनगाड कुपिण्डे नगर अस्पताल, सल्यान तोकिएको छ। आयोजकले सम्बन्धित मिति, समय र स्थानमा उपस्थित भई सेवा लिन स्थानीय बासिन्दाहरूलाई आग्रह गरेको छ। यस कार्यक्रमलाई सर्वसाधारणका लागि “सुवर्ण अवसर” का रूपमा लिइएको छ।































