१८ माघ, सल्यान-
“बालबालिकाको उज्ज्वल भविष्य स्वस्थ पोषणबाट सुरु हुन्छ” भन्ने मूल सन्देशका साथ कालिमाटी गाउँपालिका वडा नं. २, सेतिखोला सल्यानमा बाल पोषण भत्ता सदुपयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर खत्री (के.सि.) ले शुभकामना मन्तव्य दिँदै सरकारले उपलब्ध गराएको बाल पोषण भत्ता उद्देश्यअनुसार खर्च भएमा मात्रै यसको वास्तविक प्रतिफल देखिने बताउनुभयो। त्यसैगरी गाउँपालिका उपाध्यक्ष सन्सिल्ता वली (डि.सि.) ले बाल स्वास्थ्य, पोषण र आमाको सचेतनाका विषयमा महत्वपूर्ण सुझाव राख्नुभयो।

कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख सिनियर अ.हे.व. ओम प्रकाश वली र फिल्ड सहायक गोविन्द खड्का ले बाल पोषण, सन्तुलित आहार, सरसफाइ तथा पोषण भत्ताको सही उपयोगबारे व्यवहारिक जानकारी दिनुभएको थियो। कार्यक्रम सञ्चालन पञ्जिकरण शाखा प्रमुख दिप बहादुर वली ले गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्य संस्थाका कर्मचारी, वडा कार्यालयका कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा बाल पोषण भत्ता प्राप्त गर्ने बालबालिकाका आमाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमले अभिभावकमा पोषण भत्ता केवल आर्थिक सहयोग नभई बालबालिकाको स्वास्थ्य र भविष्यमा गरिने लगानी हो भन्ने चेतना थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष ईन्द्र बहादुर वलीले गर्नुभएको थियो। समापन मन्तव्यमा उहाँले बालबालिकाको पोषण सुधारमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै भत्ता सही तरिकाले उपयोग हुनुपर्नेमा जोड दिनुभयो।






























