१८ माघ, सुर्खेत-
सुर्खेतको वीरेन्द्रनगर ब्राउनसुगरसहित सुर्खेतमा एक युवक पक्राउ परेका छन्। वीरेन्द्रनगर नगरपालिका–११ बाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मिति २०८२ माघ १६ गते साँझ करिब ६:०० बजे उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला परेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ निवासी अन्दाजी ३२ वर्षका दिनेश खड्का रहेका छन्। प्रहरीले उनको शरीर तथा डेरा कोठाको खानतलासी गर्दा शुद्ध १ ग्राम ४२० मिलिग्राम ब्राउनसुगर फेला पारेको जनाएको छ। बरामद गरिएको लागूऔषध रितपूर्वक जफत गरी उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पक्राउ परेका खड्काविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।































